सेवापाटी संवाददाता २०८२ असार २७ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – आज विश्व जनसङ्ख्या दिवस हो । विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ । राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।
जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ ।


