
सेवापाटी संवाददाता २०८२ असार १८ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – बढी फल्ने आशामा किसान हाइब्रिड बीउतर्फ आकर्षित भएपछि चालु आर्थिक वर्षको ११ महिनामा मात्र १ अर्ब १६ करोडको बीउ आयात भएको छ । पछिल्ला वर्षमा धानको बीउ आयात अस्वाभाविक रूपमा बढेको छ ।
धानको हाइब्रिड बीउ नै बढी आयात हुने गरेको बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । आयातित हाइब्रिड धानको बीउमध्ये ५४ वटा दर्ता नै भएका छन् । ‘नेपालमै उन्मोचन हुने र आयात गरी १ सय ४८ धानका बीउ दर्ता भएका छन् । ९४ वटा स्वदेशमा उन्मोचन र दर्ता भएका छन्,’ केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले भने, ‘आयातित बीउमध्ये ४८ वटा हाइब्रिड र ६ वटा खुला सिञ्चित जात हुन् ।
नेपालले दुई वटा मात्रै वर्णशंकर जात हर्दिनाथ १ र हर्दिनाथ ३० उन्मोचन गरेको छ ।’ एउटा जात विकास गर्न १३र१४ वर्ष लाग्ने कृषिविज्ञ बताउँछन् । गत आर्थिक वर्षको सोही अवधिमा पनि ८८ करोड ६५ लाख रुपैयाँको धानको बीउ आयात भएको भन्सार विभागको तथ्यांक छ । धानको बीउ भारत र चीनबाट आयात हुन्छ । खुला सिमानाले भारतबाट अवैध रूपमा पनि प्रशस्त बीउ भित्रिन्छ ।