
सेवापाटी संवाददाता २०८२ जेष्ठ १५ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको बताउनु भयो । उहाँले यसले सगरमाथालाई मात्र नभइ हिमवत खण्ड र यसको असर पहाड हुँदै समुन्द्रसम्म पुग्ने जिकिर गर्नुभयो । उहाँले हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, बाढी, पहिरो हुँदै समुन्द्रसम्म असर पुग्दा पृथ्वीले असन्तुलन सहनुपर्ने खरता रहेको बताउनु भयो ।
सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरतापूर्वक जानकारी गराएको बताउनु भयो । अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा गरिरहेको बताउनु भयो । हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौं ठमेलदेखि वसन्तपुरसम्म पदयात्रा आयोजना गरिएको हो ।
श्रोत –न्युज एजेन्सी नेपाल