सेवापाटी संवाददाता २०८२ जेष्ठ ९ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं-बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने अधिकार सरकारलाई रहेको बताउनुभएको छ । उहाँले राजतन्त्र पुनःस्थापना गर्नेकुरा संविधन विरोधी काम भएको उल्लेख गर्नुभयो । अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताउनु भयो । आन्दोलन गर्न दिनेकुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न चेतावनी दिनुभयो । संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘हामीले फेरि पनि एकदम उदारतापूर्वक संविधानको विरोध गर्नेहरुलाई पनि स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्नेहरुलाई पनि र यो शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि हामीले सभा संगठन गर्ने, बोल्ने अधिकार छुट दिएकै छ ।

त्यो हाम्रो कायरता होइन । हाम्रो कमजोरी होइन । हामी डराएर गरेको होइन । त्यसरी दिँदा उनीहरुले हामीलाई कमजोर नठाने हुन्छ । यो त हामीले उदारतापूर्वक अभ्यास गरुन् न के फरक पर्छ । भनेर छुट दिएको कुरा हो । सधैँ यस्तो संविधान, जनता, व्यवस्था विरोधी क्रियाकलाप गरिराख्यो भने त्यो चिज सधैँ सहेर बस्छौँ भनेर हामी भन्न सक्दैनौँ । सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । त्यसको यथोचित प्रतिवाद हुन्छ ।  सरकारको तर्फबाट अहिले हामी सरकारको सबै गतिविधिलाई छोडिरहेका छौं । त्यो गतिविधिले कस्तो रुप लिन्छ, त्यसको आधारमा प्रतिक्रिया हुन्छ । यत्तिका धेरै मान्छेले रगत पसिना बगाएर, दुःख गरेर प्राप्त गरेको यो गणतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । त्यो आन्दोलन गर्ने भन्नेकुरालाई आजका दिनसम्म प्रतिवन्ध लगाएका छैनौँ । प्रतिवन्ध पनि लगाउनसक्ने छुट संवैधानिक अधिकार, कानूनी अधिकार सरकारलाई छ ।’मन्त्री गुरुङले राजावादीहरुको आन्दोलनको गतिविधिले कस्तो रुप लिन्छ त्यहीअनुसार सरकार अघि बढ्ने बताउनु भयो।

श्रोत —न्युज एजेन्सी नेपाल