सेवापाटी संवाददाता २०८२ जेष्ठ  ७ गते

दिपक बजगाई’कैलाश’ पोखरा, – पोखरा निवासी व्यवसायी तेजन पौडेलले आफूमाथि भएका आपराधिक विश्वासघात, ठगी, कागजात किर्ते, बैंकिङ कसुर तथा मानसिक यातनाको विषयमा गम्भीर उजुरी दिंदै दोषीहरूविरुद्ध निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्। उनले जिल्ला सरकारी वकिल कार्यालय वाग्लुङ का प्रमुख पूर्णप्रसाद शर्मा तथा प्रहरी र अनुसन्धान शाखाका कर्मचारीहरूमाथि पीडकहरूसँग मिलेमतो गरी मुद्दा दबाउने प्रयत्न गरेको आरोप लगाएका छन्।

तेजनका अनुसार उनले Tej Motors Pvt. Ltd. र Auto Solution Dot Com Pvt. Ltd. नामक कम्पनीमार्फत पोखरा, दमौली र बागलुङमा सर्भिस सेन्टर सञ्चालन गर्दै आएका थिए। आफ्नै दाजुभाइ देवेन्द्र र हेकेन्द्र पौडेललाई व्यवसायमा क्रमशः १५% र १०% सेयर दिएर ब्रान्च म्यानेजरको रूपमा नियुक्त गरेका थिए। तर, समयक्रममा ती दाजुभाइले मिलेमतोमा कम्पनीका कागजातहरू किर्ते गरी झुटो प्रतिनिधित्वमार्फत गरिमा विकास बैंक बागलुङ शाखामा खाता खोली करिब ३५ करोड रुपैयाँ बराबरको कारोबार गरेको दाबी गरेका छन्।

पौडेलका अनुसार, उक्त घटनाबारे उजुरी दिँदा जिल्ला सरकारी वकिल पूर्णप्रसाद शर्मा र तत्कालीन प्रहरी प्रमुख ऋषिराम कँडेलले पीडकहरूसँग मिलेर झण्डै ३० लाख रुपैयाँ घुस लिएर मुद्दा हल्का बनाई १० दिन हिरासतमा राखेर आरोपितहरूलाई साधारण तारेखमा छाडिदिएको गम्भीर आरोपसमेत लगाएका छन्।

उनले फौजदारी संहिता २०७४ का विभिन्न धाराहरू अन्तर्गत ठगी, आपराधिक विश्वासघात, कागजात किर्ते र बैंकिङ कसुरमा अनुसन्धान गरी कारबाहीको माग गरेका छन्। साथै, भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सरकारी कर्मचारीहरूबाट लिइएको भनिएको घुसको पनि अख्तियारमार्फत छानबिन गरिनुपर्ने उनले जोड दिएका छन्।यो विषय मा जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्मा सँग कुरा गर्दा राजनीतिक र अन्य प्रेसर ले पिडकलाई छोडिएको , वैंक वाट पनि समय मैं विवरण उपलब्ध गराउन नसक्ने तथा घरायसी कुरा भयको ले आपराधिक विश्वासघात, किर्ते कागजात एवं जालसाजी लगायत अन्य कानुन बमोजिम कारबाही गराउनु पर्ने भए पनि पारिवारिक कुरा भयकोले जे जस्तो अपराध भएपनि छोडिदिएको स्वीकार गरेका श्रोतको दाबि छ ।

तेजन पौडेलले आफू र आफ्नो परिवारको ज्यान तथा सम्पत्तिको सुरक्षाको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मा HS-WEB-082850 मा मुद्दा दर्ता गरी न्याय नपाएमा आत्महत्या गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग र नेपाल राष्ट्र बैंकलाई समेत वोधार्थ प्रतिलिपि पठाएका छन्।