
सेवापाटी संवाददाता २०८२ जेष्ठ १ गते
दिपक बजगाई (कैलाश),काठमाण्डौं- श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल गण्डकी-लुम्बिनी संयुक्त प्रदेश समितीको परिभ्रमण एवम् धार्मिक यात्रा २०८२ सम्पन्न भएको छ । यहि बैशाख २७ देखि शुरु भएको उक्त कार्यक्रम बैशाख २९ सम्म सञ्चालन भएको थियो । कार्यक्रममा प्रथम दिन सहभागी केन्द्र, प्रदेश, जिल्ला तथा प्रास पदाधिकारी तथा सदस्यहरुले नवलपरासी जिल्लाका श्रीकृष्ण प्रणामी मन्दिरहरु त्रीवेणीधाम, सुस्ता, पत्थरकला-सुस्ता, ठाडीघाट, प्रतापपुर, भिठ्ठा, पाल्हिनन्दन, हरपुर घुम्दै मन्दिरहरुको तथ्यांक संकलन गरि प्राथमिक उपचार बक्स वितरणको कार्यक्रम रहेको थियो |
दोस्रो दिनमा पाल्पा जिल्लाका श्रीकृष्ण प्रणामी मन्दिर ताहुँ र देवगीर पुग्दै यहाँका सेवाभावी, धर्मप्रेमी सुन्दरसाथ सहित युवा परिषद नेपालको धार्मिक भ्रमण र भावी दिनमा तय गरिने कार्यक्रमबारे जानकारी सहित सिद्दबाबा मन्दिर परिसर सहितका धार्मिक स्थलमा पशुबलि निषेध सचेतना कार्यक्रमको आयोजना समेत गरिएको थियो । यात्राका क्रममा केन्द्रीय उपाध्यक्ष भिम बगालेले “पसरसी चौधै भवनू” भन्ने महामतीको वाणी लिएर यसक्षेत्र आउन पाउँदा र सुन्दरसाथसँग साक्षात्कार गर्न पाउँदा प्रसन्नताको अनुभव मिलेको बताउनुभएको थियो ।
कार्यक्रमको तेस्रो तथा अन्तिम दिन २५६९ औं बुद्द जयन्तीको पावन अबसर पारेर रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका -०१ को श्रीकृष्ण प्रणामी मन्दिर, धर्मशाला, बुटवल स्थित श्रीकृष्ण प्रणामी मन्दिर, शुद्धोधन गाउँपालिका, रुपन्देही स्थित श्रीकृष्ण प्रणामी मन्दिर शिसैको तथ्यांक संकलन एवं प्राथमिक उपचार बक्स वितरण गर्दै विश्व शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल पवित्र तिर्थभूमि लुम्बिनि क्षेत्र घुम्दै अहिंसा सम्बन्धी सचेतना फैलाउने ब्यानर प्रदर्शनी, सरसफाइ एवम् शान्तिपूर्ण र्याली सहित विश्व शान्तिको कामना र सामुहिक दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो ।
युवा परिषदले सेवाका क्षेत्रमा भावी दिनमा नवीन कार्यहरु सञ्चालन गर्ने र संगठन सुदृढीकरणमा जोड दिने बताउँदै परिषद्का केन्द्रीय महासचिव दिपक कार्कीले सुन्दर कार्यक्रमको संयोजन गरेकोमा समितिलाई धन्यवाद दिदै आफू पनि प्रत्यक्ष सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । यो ऐतिहाँसिक कार्यक्रम भब्य सभ्य तरिकाले सफल गराउन उपस्थित हुनुहुने केन्द्रीय समितिका उपाध्यक्ष भिम प्रसाद बगाले, महासचिव दिपक कार्की, गुरुजि देवराज खनाल, केन्द्रीय सदस्य बिमला कुमारी तिमल्सिना , जिल्ला समिति रुपन्देही, नवलपरासी, पाल्पा, बर्दिया लगायत गण्डकी लुम्बिनी क्षेत्रका सम्पूर्ण जिल्ला समितिका अध्यक्ष एवम् पदाधिकारीहरुमा प्रदेश समितिले आभार प्रकट गरेको प्रदेश समितिका सचिव सन्तोष ढुंगानाले बताउनुभयो।
कार्यक्रमको समापन गर्दै उक्त संयुक्त प्रदेश समितिका अध्यक्ष युवराज बरालले सबैको सहभागितामा बृहत् कार्यक्रम गर्न पाएकोमा प्रसन्नता महसुस भएको र परिषदका गतिबिधि सहित सुन्दरसाथ मन्दिरहरुमा पुग्दा प्रेम स्नेह र उत्कृष्ट आतिथ्यता मिलेको र भोलिका दिनमा यस्ता कार्यक्रमहरुले युवा परिषदको ओझ अझै बढाउने बिचार पनि ब्यक्त गर्नु भएको थियो ।