सेवापाटी संवाददाता २०८२ बैशाख २९ गते

काठमाण्डौ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन अर्थात आज सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती बुद्धको पूजा, आराधना एवं प्रवचन गरी बुद्धजयन्ती मनाइँदै छ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) शाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ । बुद्धजयन्तीको अवसरमा सरकारले सार्बजिक बिदा दिदै आएको छ।