सेवापाटी संवाददाता २०८२ बैशाख २७ गते

काठमण्डौं– शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ ।

उहाँले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतिका बिरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ ।

अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुबिरुद्ध घेराबन्दी गर्ने, भ्रमहरु छर्ने काममा लागेको आरोप लगाउनु भयो । उहाँले नेताहरुलाई देवत्वकरण गर्न नहुने र समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

श्रोत– न्युज एजेन्सी नेपाल