सेवापाटी संवाददाता २०८२ बैशाख २६ गते

काठमाण्डौं–शुक्रवार कानून दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानून कार्यान्वयनको पक्षलाई बलियो बनाउने गरी देशभर बहस हुनुपर्ने बताउनुभएको छ।

नेपालमा हरेक क्षेत्रसँग सम्बन्धित कानूनको चाङ रहेको तर कार्यान्वयनको पक्ष कमजोर रहेको, कानून निर्माण मात्रै मुख्य कुरा नभइ कानूनको सही ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण भएको, कानूनको सही कार्यान्वयन र परिपालना नहुँदा कानूनको कुनै अर्थ नहुने, निर्माण भएका कानून व्यवहारिक र समय सापेक्ष छ कि छैन भनेर कानूनको समीक्षा गर्ने समय भएको उहाँको भनाइ छ ।

उहाँले स्थानीय स्तरमा न्याय सम्पादन गर्नका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा न्यायिक मेलमेलाप केन्द्र स्थापना गरिएको र काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा निःशुल्क रुपमा मेलमिलाप सेवा दिइ रहेको जानकारी गराउनु भयो । उहाँले वडामा स्थापना भएका महिला सञ्जाल र मेलमिलाप केन्द्रका कारण मेलमिलाप गर्न आउनेको संख्या बढेको बताउनु भयो ।

 

 

श्रोत   –न्युज एजेन्सी नेपाल