सुरक्षा निकायका पदाधिकारीले कूटनैतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने भएको छ ।

गृह मन्त्रालयले बिहीबार सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइ राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यस निर्देशन विपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने जानकारी दिनुभयो ।

प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशनविपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’’Spource :gorkhapatra