काठमाडौं।अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ ।शनिबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

‘प्रश्नकर्ता र म मिलेर सबै कुरा यो पुस्तकमा समेटेका छौं । यो पुस्तकमा सिनेमाका मात्रै कुराहरु नभएर सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरु छन् । राजनीति, धर्म, केही मनोविज्ञानका कुरा छन्, मानवीय  जिवनका कुराहरु छन्, आफ्नो बाल्यकालको परिवारको कुरा छ । सम्बन्ध पारिवारिक माहोलका कुराहरु पनि पुस्तकमा छन् । ’

साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लागेको बताए । ‘यो पुस्तक तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो । फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो,’ हमालले भने ।

पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएको छ । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो ।