काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्य बढाएकाे हाे ।एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्व घाटा हुने निगमको भनाइ छ ।
निगमले बिगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको र सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको जनाएको छ ।
बढेको मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ । तर उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गरी हाललाई पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर १५ रुपैयाँले वृद्धि गरिएको निगमको भनाइ छ ।


