पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ तर सेयर बजार के हो ? र कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ ।

सेयर बजारका विषयमा सुने पनि त्यसको महत्व, अवस्था र विधि, प्रक्रियाका विषयमा जानकारी नभएको त्रिभूवन बहुुमुखी क्याम्पस पाल्पामा विविए अध्ययनरत कौशल घर्ती मगरले बताउनुु भयो । उहाँले भन्नुभयो‘ धेरैले सेयर भर्ने कुुरा गर्नुहुन्छ, मैले पनि साथीहरुकै लहलयमै डिम्याट खाता खोलेको छुु , अहिलेसम्म २ वटा सेयर पनि भरें तर यसको विषयमा धेरै ज्ञान भने छैन् ।’ विद्यालय तहबाटै सेयर बजार बारे शिक्षा दिनुपर्ने उहाँको भनाई छ । विविए अध्ययनरत रोजिता विश्वकर्माले पनि सेयर बजारकाबारे सुने पनि त्यसको सम्पूर्ण ज्ञान नभएको बताउनुुभयो । सेयर किन भर्ने ? कसरी भर्ने ? भन्ने विषयमा ज्ञान नुहँदा नहुँदै पनि साथीहरुले भरेको देखेपछि सेयर भर्ने गरेको उहाँको भनाई छ । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय धेरैले सेयर भर्ने गरेका छन् । तर त्यसको विषयमा भने कमैलाई थाहा छ ।

विद्यार्थीलाई सेयर बजारबारे शिक्षा

सेयर बजारबारे शिक्षाका कार्यक्रमहरु हुन नसकेका बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले भने पाल्पामा विद्यार्थीहरुलाई लक्षित गरी सेयर बजारबारे शिक्षा दिएको छ ।

सेयर बजारबारे सामान्य पनि ज्ञान नभएका तर प्रवेश गर्न चाहनेहरुका लागि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको व्यवस्थापनमा यी दुई संस्थाले विद्यार्थीहरुलाई सेयर बजारबारे शिक्षा दिएका हुन् । विद्यार्थीहरुलाई सेयर बजारका बारेमा जानकारी दिने उद्देश्यले नेपाल स्टक एक्सचेन्जको सहयोगमा सेयर बजार शिक्षा दिइएको सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताउनुुभयो । सेयर कारोबारमा धेरैको आकर्षण बढे पनि त्यसका विषयमा आवश्यक ज्ञान नहुँदा धेरै अलमलमा पर्ने गरेका कारण पनि विद्यार्थी वर्गबाटै सेयर बजारका बारेमा शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको कार्कीले बताउनुुभयो । उहाँले भन्नुुभयो ‘विद्यार्थीहरुमा सेयर बजारको क्रेज बढेको छ तर पर्याप्त जानकारी नहुँदा जोखिम मोल्नु परेको छ ।’ सेयर कारोबार गर्न चाहनेहरुका लागि सेयर बजार शिक्षाले महत्वपूर्ण टेवा पुग्नेमा सहायक क्याम्पस प्रमुख कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सेयर के हो ? सेयर बजार के हो ? सेयर कसरी बाँडफाँड हुन्छ ? सेयरको कारोबार कसरी हुन्छ ? सेयर मूल्य कसरी घटबढ हुन्छ ? कस्तो कम्पनीमा लगानी गर्ने ? डिम्याट खाता के हो ? कसरी खोल्ने ? कहाँ खोल्ने ? नेप्से परिसूचक के हो ? जस्ता विषयमा जानकारी गराइएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले वित्तीय साक्षरताको महत्व विद्यालय र क्याम्पसतहदेखि नै बुझाउन आवश्यक रहेको बताउनुुभयो । ‘विद्यार्थीहरुलाई सेयर बजारका बारेमा ज्ञान प्रदान गर्न सकियो भने उनीहरुले पैसाको महत्व बुझ्छन्’, सीइओ कार्कीले भन्नुुभयो । लगानीको लागि बचतको महत्व बुझेपछि उनीहरु आफै आर्थिक रुपले सक्षम बन्नतर्फ लाग्ने उहाँले बताउनुुभयो । वित्तीय चेतना नभएकाले सर्वसाधारणमा बचत गर्ने बानीको विकास नभएको उहाँको भनाइ छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन सेयर बजारलाई पनि व्यापक बनाउनुपर्नेमा कार्कीले जोड दिनुुभयो । उहाँले पछिल्लो समय विश्वभर फैलिएको कोभिडका कारण सेयर बजार बढ्न नसेको बताउनुुभयो । अहिले महामारी केही सहज बन्दै जाँदा सेयर बजारमा पनि केही सकरात्मक संकेतहरु देखिए पनि राजनीतिक अस्थिरता, सरकारले ल्याएका वित्तिय तथा मौद्धिक नीति, बैंकहरुले सहजै ऋण प्रवाह गर्न नसक्नु र अर्थतन्त्रमा नकरात्मक असर देखा परेका कारण सेयर बजार बढ्न नसेको सीइओ कार्कीले बताउनुभयो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूँजी बजार विज्ञ कृष्ण गिरीले सेयर बजारको सामान्य परिचय, किन लगानी गर्ने ?, सेयर बजारमा लगानी गर्ने तरिका, प्रथामिक बजारमा ध्यान दिनुपर्ने कुराहरु, सेयर लगानीबाट फाइदा कसरी गर्न सकिन्छ ? जस्ता विषयमा जानकारी गराउनुुभएको थियो । यस्तै नेप्सेका आईटी अधिकृत प्रभाकर घिमिरेले सेकेन्डरी मार्केट के हो ? नेप्सेका कार्य, कारोबार कसरी गर्ने, कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुुभयो । उहाँले विद्यार्थीहरुलाई कुनै पनि कम्पनीको वित्तिय अवस्था विश्लेषण गरेर मात्र कारोबार गर्न आग्रह गर्नुभयो । सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका आईटी अधिकृत बाल शंकर थापा रेश्मीले सिडिएससीले प्रदान गर्ने सेवाहरु, सेयर भर्ने तरीकाहरुको विषयमा जानकारी गराउनुभयो । उता लगानी कर्ताहरुलाई पनि सेयर बजारका विषयमा विस्तृत जानकारी गराइएको छ ।

कार्यक्रममा लगानी कर्ताहरुलाई ढुक्कसँग सेयर कारोबार गर्न आग्रह गरिएको छ । कार्यक्रममा सीडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका वरिष्ठ आईटी अधिकृत सुरज कार्कीले सीडिएससीको परिचय, यसले प्रदान गर्ने सेवाहरु, सि आस्वामा आवद्ध हुने प्रक्रिया, मेरो सेयर प्राप्त गर्ने प्रक्रिया लगायतका विषयमा जानकारी गराउनुभयो । यस्तै नेप्सेका निरञ्जन फुयाँलले पुँजी मार्केटका विषयमा जानकारी गराए । उनले प्राइमरी, सेकेण्डरी मार्केट र पुँजी बजारको वर्तमान अवस्थाका बारेमा लगानी कर्ताहरुलाई जानकारी गराउनुुभएको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडको व्यवस्थापनमा आर्य तारा इन्भेष्टमेन्ट एण्ड सेक्यिुटी टीभिटी लिमिडेट पाल्पा शाखाको सहकार्यमा कार्यक्रम भएको आर्य ताराका शाखा प्रवन्धक नारायण पाण्डेले बताउनुभयो ।Source :ehimalaya Times