काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार औपचारिक सम्झौता भएको हो ।

चलचित्रका निर्माता वसन्त लम्साल तथा कुवेर सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच वितरण सम्झौतामा हस्ताक्षर गरिएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रलाई कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज गर्न लागिएको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित तथा कालजयी गीत दिएका हरि लम्सालको यो पहिलो फिचर फिल्म निर्देशन हो । चलचित्र ‘बाः एक योद्धा’को कथा तथा पटकथा पनि उनले स्वयं तयार गरेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् ।

निर्माता लम्सालले यसअघि अभिनेता विपीन कार्की अभिनीत चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । नयाँ चलचित्रमा अभिनेत्री झरना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्तलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

चलचित्रले नेपाली समाजमा परिवारका लागि बुवाले गर्ने त्याग, संघर्ष र जिम्मेवारीलाई मुख्य विषयवस्तु बनाएको निर्माण टिमले जनाएको छ । सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले जीवनभर भोग्ने चुनौती र समर्पणको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मुख्य सहायक निर्देशकको जिम्मेवारी तारानाथ न्यौपानेले सम्हालेका छन् ।