काठमाडौं ।प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी दर्ता भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार वैशाख २६ गते समितिले डा. शर्माविरुद्ध उजुरी आह्वान गरेपछि हालसम्म सात उजुरी प्राप्त भएका हुन् । समितिले स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । साथै उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना तथा सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो ।
उजुरी दर्ता गर्ने अन्तिम समय सोमबारसम्म रहेको सचिवालयले जनाएको छ । प्राप्त उजुरीमाथि समितिले छलफल तथा छानबिन गर्नेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ प्रक्रिया अघि बढाइनेछ । डा. शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।


