पोखरा ।  नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।शनिबार सार्वजनिक बिदाको दिन मौका छोपी भन्सार छलेर ल्याइँदै गरेका दुई वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिइएको हो । ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका ती कन्टेनरको खानतलासी गर्दा ५९२ कार्टुन भेप फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सारका अनुसार एक कार्टुनमा २२० वटा भेप रहेको आधारमा दुवै कन्टेनरमा करिब एक लाख २० हजारभन्दा बढी विद्युतीय चुरोट रहेको अनुमान गरिएको छ ।सूचनाका आधारमा भन्सार र सुरक्षा निकायको संयुक्त टोलीले ती कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनर सार्वजनिक बिदाको दिन लोमान्थाङतर्फ लैजाँदै गरेको अवस्थामा रोकिएको थियो ।

भन्सार कार्यालयका कर्मचारी तिजी पर्वमा सहभागी भएको मौका छोपी तस्करी प्रयास भएको आशंका गरिएको छ । हाल चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि कोरलानाकाबाट ठूलो मात्रामा भेप बरामद भएको घटनाहरू दोहोरिँदै आएका छन् । गत वर्ष र चालु आर्थिक वर्षमा समेत करोडौँ मूल्य बराबरका भेप बरामद गरिएको थियो ।