काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो कुनै विवाद वा फुट नरहेको स्पष्ट गरेका छन् ।

रास्वपाका सांसदहरूलाई आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापनका क्रममा बोल्दै सभापति लामिछानेले आफू र बालेनबीच विवाद रहेको भन्ने चर्चा निराधार भएको बताएका हुन् । उनले आफूहरू राजनीतिक रूपमा परिपक्व रहेको उल्लेख गर्दै फुटको अपेक्षा नगर्न आग्रह गरे ।

“हामी नयाँ हौँ, तर बेबकुफ होइनौँ,” उनले भने ।

लामिछानेले सांसदहरूलाई ‘बालेन पक्ष’ र ‘रवि पक्ष’ भनेर विभाजित नहुन चेतावनी दिँदै गुटबन्दीले पार्टीलाई कमजोर बनाउने बताए । उनले कुनै पक्षमा लागेको कारण केही सांसद मन्त्री बन्न नपाएको टिप्पणी गर्दै भविष्यमा टिकटसमेत गुम्न सक्ने संकेत गरे ।

उनले पार्टी र सरकार दुवैले देशको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरे । साथै अध्यादेशलगायत विषयमा सांसदहरू स्पष्ट हुनुपर्ने भन्दै नबुझेका विषय पार्टीभित्रै छलफल गर्न आग्रह गरे ।