काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत जारी सिरिजमा युएईले ओमानलाई ५४ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा यूएईले दिएको ३०९ रनको लक्ष्य पछ्याएको ओमान ४७ ओभरमा अलआउट हुँदै २५४ रनमा सीमित भयो । ओमानका लागि जितेन रामानन्दीले अविजित ९१ रन बनाउँदा हमाद मिर्जाले ८३ रनको योगदान दिए । यसअघि पहिले ब्याटिङ गरेको यूएईले ४७ ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो । यूएईका लागि हरर्प्रित सिंहले ७७, मुहम्मद शहजादले ७४, अदीब उस्मानीले ७२ तथा अर्यांश शर्माले ५० रन जोडे । यस जितसँगै यूएईले २४ खेलबाट १४ अंक जोडेको छ तर अंक तालिकाको पुछारमै रहेको छ । यता ओमान भने २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा कायम छ । अब सिरिज अन्तर्गत नेपाल  र ओमानबीचको खेल मंगलबार हुने तालिका छ ।