काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ ।
युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने निर्णय इरानले लिएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा ुब्रेन्ट क्रुड आयलु को मूल्य प्रति ब्यारेल ९८ डलरबाट ८८ मा झरेको बीबीसीले उल्लेख गरेको छ।
इरान र अमेरिकाबीच गत अप्रिल सातको मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो । उनीहरूबीच अप्रिल २२ सम्म युद्धविराम हुनेछ ।
विश्वको इन्धन आपूर्तिको २० प्रतिशत ढुवानी हुने होर्मुजमा इरानले अवरोध पुर्याएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएको थियो ।युद्धअघि ुब्रेन्ट क्रुड आयलुको मूल्य प्रति ब्यारेल ७० डलर थियो । यसको मूल्य १०० डलर हुँदै अधिकतम ११५ सम्म पुगेको थियो ।
इन्धनको मूल्य आकासिएसँगै ढुवानीमा विश्वव्यापी समस्या निम्तिने जोखिम बढेको थियो । कतिपय वायुसेवा प्रदायकले उडान रद्धको रणनीति बनाएको बीबीसीले उल्लेख गरेको छ ।
होर्मुज बन्द हुँदा मल आपूर्तिमा पनि समस्या परेको थियो । विश्वको एक तिहाइ मल उक्त नाकाबाट ढुवानी हुने गरेको छ ।
लेबनानमा युद्धविराम भएसँगै इरानले अप्रिल २२ सम्म होर्मुजमा अवरोध नगर्ने विज्ञप्ति प्रकाशित गरेको थियो । इरानले होर्मुज खुला गरेको अवस्थामा पनि आफ्नो नाकाबन्दी कायमै रहने अमेरिकाले बताएको छ ।


