काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय कार्यान्वयनसँगै आइतबारको ओपीडी सेवा बन्द रहने जनाएको हो।

यसअघि बिरामी मर्कामा पर्ने भन्दै मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो। तर चिकित्सक संघले आइतबार सेवा सञ्चालन गर्न नसकिने बताएपछि सरकार पुनः दुई दिन बिदा लागू गर्ने निर्णयमा पुगेको हो।स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ। यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४सै घण्टा सुचारु राख्न जनाएको छ।

बिदाका दिनमा बिरामीले समस्या नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा पठाउन तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

यसका साथै बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ पूर्ण रूपमा लागू गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।