सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राजन दाहाललाई उम्मेदवार घोषणा गरेसँगै जिल्लाको राजनीतिक समीकरण नै हल्लिएको छ। दाहालको उम्मेदवारी सार्वजनिक हुनासाथ विपक्षी दलहरू आन्तरिक छलफलमा सीमित भएका छन् भने स्थानीय राजनीति दाहाल–केन्द्रित बनेको छ।
बिघटित प्रतिनिधि सभाका सदस्य तथा सिन्धुलीका खरो र निर्भीक नेताका रूपमा परिचित दाहाल कुनै पार्टीको सीमाभन्दा माथि उठेर जनताको पक्षमा उभिने नेताको छवि बनाइसकेका छन्। जिल्लामा कसैलाई आपत पर्दा “यो मेरो मान्छे, त्यो तिम्रो” नभनी निस्वार्थ रूपमा सहयोग गर्ने स्वभावकै कारण दाहाल युवा देखि पाका मतदातासम्मको मन, मस्तिष्क र मुटुमा बस्न सफल भएका छन्। स्थानीयहरूको भनाइमा, जिल्लाका सबै राजनीतिक शक्ति एक ठाउँमा उभिँदा पनि तौल दाहालकै पल्लामा भारी देखिन्छ।
यही कारण विपक्षी दलहरू सार्वजनिक रूपमा भन्दा बढी बन्द कोठामा रणनीति बनाउन बाध्य भएका छन्। खरो स्वभाव, स्पष्ट वक्तृत्व र सम्झौताहीन अडानले दाहाललाई “सिन्धुलीको मात्र होइन, राष्ट्रकै नेताको सम्भावना बोकेको पात्र”को रूपमा स्थापित गरेको छ। जनतासँगको प्रत्यक्ष सम्बन्ध र संकटका बेला देखाएको नेतृत्व क्षमताले दाहाललाई चुनावी अंकगणितभन्दा धेरै माथि पुर्याइसकेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। सिन्धुली–२ मा दाहालको उम्मेदवारीसँगै चुनाव अब विकल्प खोज्ने होइन, यथार्थ स्वीकार गर्ने मोडमा पुगेको देखिन्छ। विपक्षका लागि यो चुनाव प्रतिस्पर्धा होइन, अस्तित्व जोगाउने संघर्ष बन्दै गएको स्पष्ट देखिन थालेको छ।


