काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ। तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

उनले नेपालको चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए । प्रशान्तको निधनको खबरलगत्तै उनलाई सामाजिक संजालमा समवेदनाको ओइरो लागिरहेको छ ।