धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सञ्चालन भएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि कार्यक्रममा सहभागी भएका थिए ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदमहरु चालेका छौं । पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ ।

प्रधानमन्त्रीले इसिमोडअन्तर्गत सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियमको नयाँ सचिवालय काठमाडौं विश्वविद्यालयमा आउने निर्णयप्रति खुसी व्यक्त गरिन् । जलवायु परिवर्तनका चुनौतीसँग जुधिरहेका हिमाली राष्ट्रहरूको साझा आवाज विश्वसम्म पुर्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने सरकारको आँकलन रहेको उनले बताइन् ।

यस वर्ष विद्यार्थी भर्ना बढ्न सफल भएको भन्दै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई बधाई दिइन् । ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिन बाध्य रहेको अवस्थामा देशमै गुणस्तरीय र किफायती अध्ययन वातावरण विकास गर्नु जरूरी भएको उनको भनाइ थियो ।