जनकपुर ।मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)को राजीनामा स्वीकृत भएको छ। विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले शनिबार पदबाट राजीनामा दिएका थिए।विश्वासको मत लिने दिन जनमतका दुई जना अनुपस्थित भएको र माओवादी केन्द्रका रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने भनेपछि अल्पमतमा परेका मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।
अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले गत असोज २८ गते राजीनामा दिएका थिए। असोज २९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।


