काठमाडौं, २२ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले चुनाव भाँड्नको लागि नयाँ÷नयाँ नाटकमञ्चन गरिरहेको भन्दै अब २१ फागुनको चुनाव हुन नदिनको लागि हुने कुनैपनि षड्यन्त्र र खेलबाडको विरुद्धमा जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका छन् । गुण्डुमा बसेर केपी ओलीले मुलुकलाई झनै अप्ठ्यारोमा हाल्नेगरि षड्यन्त्रको तानाबाना बुनेको र ओलीको अपराधलाई एमालेका राम्रा नेताहरुले बोकेर हिँड्न नहुने साहको सुझाव छ ।
आज (शनिबार) काठमाडौंमा COMMON GEN-Z NEPAL ले आयोजना गरेको बृहत अन्तरक्रियालाई सम्बोधन गर्दै साहले चुनाव गराउने र सरकारलाई पनि सही ट्रयाकमा हिँडाउनको लागि चनाखो हुन अपिल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना गर्ने भनेर आफ्नो दलका नेताहरुलाई हस्ताक्षर संकलनको अभियान चलाउन लगाएपछि साहले चुनावबाट नभाग्न र चुनावी वातावरण नधमिल्याउन चेतावनी दिएका हुन् ।
जेन–जी आन्दोलनमा चरम दमन गर्ने र युवाहरुको छाती र टाउकोमा ताकि ताकि गोली हान्नेहरुले नै आज चुनाव हुन नदिने भनेर चूनौति दिन थालेको भन्दै साहले देशभक्त, प्रगतिशील र राष्ट्रवादी जनता जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।
चुनाव फेस गर्न एमाले डराउनुको कारण ओलीको दम्भकारी शासन र अहंकारलाई युवाहरुको बलमा जनताले दुई दिनमै धुलो चटाएको र अहंकार उतारिदिनु नै प्रमुख कारण भएको साहको टिप्पणी छ । उनले भने,‘एक त केपी ओलीहरु अहिले लुकेर बस्नुपरेको छ, अर्को भर्खरै युवाहरुलाई ताकि ताकि गोली हानेर मारिएको छ, अनि यिनीहरु कुन मुख लिएर जनतामा जान्छन् ? जनताले यी हत्यारा शासकहरुको मुख नै हेर्न चाहेका छैनन् ।’
जाँचबुझ आयोगले पनि भदौ २३ गते युवाहरुको हत्यामा संलग्न शासकहरुलाई अहिलेसम्म बयान लिन नसक्नु निकम्मापन भएको भन्दै आयोगका पदाधिकारीको क्षमतामाथि नै प्रश्न उठाए । उनले गृहमन्त्री ओमप्रकाश अर्याल सस्तो लोकप्रियतामा रमाएको र जाँचुबझ आयोगका पदाधिकारी पनि कमजोर मनोवल बोकेर बस्दा हत्याराहरुको चाहीँ मनोवल उकासिएको टिप्पणी गरे ।
उनले भने,‘शान्ति, सुरक्षा र अमचनयन गर्ने जिम्मा पाएका गृहमन्त्रीलाई कहिले बालेनले धम्काएको छ, कहिले जेनजी अगुवाले राजीनामा मागेका छन्, अनि गृहमन्त्री लुतेजस्तो देखियो, निरीह देखियो, यस्तो निरीहपनले देशमा चुनाव हुन्छ ?’ सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको दुई महिना हुन लाग्दासमेत जेनजी युवाहरुको हत्यारालाई कारबाही प्रक्रिया अघि नबढ्नुमा सरकार र हत्याराहरुको नेक्ससको गन्ध आएको साहको आरोप छ ।
उनले भने,‘गृहमन्त्री बनेको यतिका दिन भयो, अहिलेसम्म यी यी हत्यारालाई कारबाही अघि बढाईयो, यति हतियार फिर्ता ल्याएँ, यति कैदीबन्दी फिर्ता ल्याएँ भनेर उहाँले भन्न सक्नुभएको छैन, अहिले पूर्व राष्ट्रपतिहरुको जलेको घर हेरेर, त्यसको समाचार प्रचारबाजीमा रमाउनुभएको छ, त्यही कामको लागि तपाईं गृहमन्त्री बनेको हो ?’
जेन–जी आन्दोलनमा आन्दोलनकारीलाई नै छानी छानी पक्राउ गर्ने, धरपकड गर्ने काम गरिएको तर हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिनेगरि नाटक रचिएको उनको आरोप छ । जेनजी आन्दोलनको गौरवलाई धुमिल बनाउनको लागि सुशीला सरकार नै उद्धत रहेको साहको अर्को आरोप छ ।
उनले अहिलेको सरकारले देशलाई पार लगाउने छाँटकाँट नदेखिएको पनि शंका व्यक्त गरे । तर, २१ फागुनमा चुनाव गराउने दायित्वबाट नभाग्न र आफ्नो सत्ता लम्ब्याउने षड्यन्त्र नगर्नपनि उनले यो सरकारलाई चेतावनी दिए । उनले भने,‘जति नै षड्यन्त्र गर्नुहोस, चुनाव त तपाईंले गराउनैपर्छ, नत्र तपाईंहरुलाई जनताले कान समातेर जिम्मेवारी सम्झाईदिनेछन् ।’


