काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् ।आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ ।

चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शनिबार (हिजो) ब्रतालुले पर्वको पहिलो दिन नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।

छठ पर्वको महत्त्वपूर्ण व्रत कात्तिक शुक्ल षष्ठी तिथि भोली गरिन्छ । सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । साथै, सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गरिन्छ ।