सेवापाटी संवाददाता २०८२ श्रावण ६ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – अर्थ मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले बताएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ताका क्रममा सियाओदोङले भौतिक संरचना पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जनाएका छन् ।
द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । यसबाट १ हजार २ सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । अर्थमन्त्री पौडेलले विपद्लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद पनि दिएका छन ।


