सेवापाटी संवाददाता २०८२ श्रावण १ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार ३१ मा चितवनमा ‘अब म रिटार्यड हुन लाग्या छु भनेका छन ।’ उनले अगाडि भने, ‘पार्टी छाड्दै गर्दा पार्टीलाई एकढिक्का बनाउने मेरो इच्छा छ ।’उनले यसो भन्दै गर्दा सभापति देउवा पार्टीबाट रिटार्यड हुँदैछन् कि सरकारको नेतृत्वबाट भन्ने विषयमा कांग्रेसभित्र चर्चाको विषय बन्यो ।
देउवाले अगाडि भने, ‘हाम्रोभित्र के छ भने टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । उनले कांग्रेस पार्टीकै कारण आफू ५ पटक प्रधानमन्त्री भएको भन्दै अब अवकाशको मुखमा पार्टीलाई एकढिक्का बनाउने इच्छा रहेको भन्दै भाषण गरेका थिए । ‘यही पार्टीका कारण म प्रधानमन्त्री भएँ । पार्टी सभापति भएँ । अब रिटायर्ड हुन लाग्या छु ।
यो पार्टीलाई एक बनाउने इच्छा छ,’ देउवाले भने । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अब सभापतिजीले अवकाश लिने बेला आयो भनेर कुरा उठाएपछि देउवाले महामन्त्री शर्मालाई जवाफ दिँदै भनेका थिए, ‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’


