सेवापाटी संवाददाता २०८२ जेष्ठ ३० गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – भारतमा विमान दुर्घटना हुँदा २४१ जनाको शव भेटिएको छ भने एक यात्रु जीवितै भेटिएका छन् । अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार लन्डनको ग्याटविक विमानस्थल जान २३० यात्रु र १२ कर्मचारी लिई उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो ।

दुर्घटना होस्टलका केही विद्यार्थीको मृत्यु भएको छ र केही घाइते भएका छन् । होस्टलमा विमान ठोकिएका कारण विमानमा रहेका यात्रु, कर्मचारी र चालकदलका सदस्य भन्दा बाहेक कति जना हताहत भए भन्ने आधिकारिक विवरण आइसकेको छैन । एयर इन्डियाको स्वामित्वमा रहेको टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले साँझसम्म दुर्घटनाको कारण पत्ता नलागेको बताएका छन् ।

उनले जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १ करोड भारतीय रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने जानकारी गराएका छन् । त्यस्तै सबै घाइतेको उपचार खर्च बेहोर्ने पनि श्रोतले जनाएको छ ।