सेवापाटी संवाददाता २०८२ बैशाख २१ गते
काठमाण्डौं–कक्षा १२ को परीक्षा आजबाट हुँदैछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने छ शिक्षक महासंघको आन्दोलनका कारण स्थगित कक्षा १२ को परीक्षा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच सहमति भएपछि ९ दिनपछि आजबाट हुँदैछ ।परीक्षामा साधारण तथा प्राविधिक विषयका नियमित र आंशिक गरी ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षामा ५ हजार २ सय २ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी मध्य छात्रको संख्या १ लाख ९८ हजार ८ सय ७५ र छात्राको संख्या १ लाख ९७ हजार १३ रहेको छ । भने अन्य वर्गका २० जनाले परीक्षा दिँदैछन् । आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ परीक्षार्थीहरू सहभागी हुनेछन् ।नेपालभर जम्मा १ हजार ५ सय ९० र जापानमा १ समेत गरी कुल १ हजार ५ सय ९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित ४८ हजार जनशक्ति परिचालन हुनेछन् । परीक्षा अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको र सो समितिमार्फत अनुगमन र पर्यवेक्षणको व्यवस्था मिलाइएको छ । परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीअनुकूल बनाई सहज र प्रभावकारी वातावरणमा परीक्षा सञ्चालन र व्यवस्थापन गर्न बोर्डका अध्यक्ष महाश्रम शर्माले अनुरोध गर्नुभएको छ ।


