काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्।

शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।उनका अनुसार भट्टमाथि संगठित अपराध कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। परिसरको हिरासतमा झापाका इनम सापकोटा छन्। उनीमाथि प्रहरीले संगठित अपराध अनुसन्धान गरिरहेको छ। उनैको बयान र कनेक्सनको आधारमा भट्ट पक्राउ गरेको एसएसपी घिमिरेले बताए। ‘इनमको बयान र कनेक्सन देखिएपछि भट्टमाथि संगठित अपराध अनुसन्धानको लागि पक्राउ गरिएको हो,’ उनले भने।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।