काठमाडौँ — प्रधानमन्त्री वाइलेन्द्र शाह (बालेन) ले नवनियुक्त प्रहरी अधिकृतहरूलाई कुनै पनि किसिमको राजनीतिक वा बाह्य दबाब र प्रभावमा नपरी नागरिकले प्रत्याभूत गर्ने गरी शान्ति–सुरक्षा कायम गर्न निर्देशन दिएका छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूह’ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको मुख्य मानक नै नैतिकता, निष्ठा र इमानदारिता भएको स्पष्ट पारे। “पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान र प्रचलित कानुनको सही पालना गर्नु–गराउनु नै तपाईंहरूको सफलता हो,” प्रधानमन्त्री शाहले भने, “मलाई विश्वास छ, तपाईंहरू संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा लाग्नुहुने छैन।”
प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधको स्वरूप र प्रवृत्ति फेरिएकाले प्रविधिमैत्री अनुसन्धान अहिलेको आवश्यकता भएको औँल्याए। उनले निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सदुपयोग गर्न आग्रह गर्दै सरकारले आवश्यक सम्पूर्ण स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले १६ महिना लामो कडा तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई बधाई दिँदै आफ्ना सन्तानलाई चुनौतीपूर्ण सेवामा पठाउने अभिभावकहरूप्रति आभार व्यक्त गरे।

नेपाल प्रहरीको सात दशक लामो गौरवशाली इतिहास: आईजीपी कार्की
समारोहमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वि.स. २०१२ सालको प्रहरी ऐनमार्फत संस्थागत स्वरूप पाएको नेपाल प्रहरीले सात दशक लामो यात्रा पूरा गरिसकेको स्मरण गराए। उनले राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण, द्वन्द्व, आन्दोलन र प्राकृतिक प्रकोप जस्ता अनेकौँ सुरक्षा चुनौतीहरूका बीच पनि संगठनले नागरिकको जिउधनको सुरक्षाको दायित्व सदैव अग्रपंक्तिमा रहेर कुशलतापूर्वक पूरा गर्दै आएको बताए।