काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकामा नेपाललाई समावेश गरिएको छैन ।

यसअघि साफले सेप्टेम्बर १५ मा प्रारम्भिक खेल तालिका सार्वजनिक गर्दै फिफाको निलम्बन फुकुवा भए नेपाललाई समावेश गरेर तालिका परिमार्जन गर्ने जनाएको थियो । गत अगस्ट १ मा समूह विभाजन सार्वजनिक गर्दा पनि साफले निलम्बन सेप्टेम्बर ३० सम्म फुकुवा हुने अपेक्षा गरेको जनाएको थियो ।

तर निर्धारित समयसम्म निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

योसँगै नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । नेपालले प्रतियोगितामा एकपटक उपविजेताको उपाधिसमेत जितेको छ ।

साफका अनुसार प्रतियोगिता आगामी नोभेम्बर ५ देखि बंगलादेशमा सुरु हुनेछ । समूह चरणका खेल नोभेम्बर ११ सम्म सञ्चालन हुनेछन् । सेमिफाइनल नोभेम्बर १४ र फाइनल नोभेम्बर १७ मा हुनेछ ।