काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडकखण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।
भदौ २८ गतेदेखि परीक्षणका रूपमा केही सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुईतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।
भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि सडकखण्डमा यातायात अवरुद्ध भएको थियो ।
सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गर्न सुझाव दिइएको थियो ।
सोही सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो । प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि निर्माण सुरु भएको दशौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।
हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म सम्पन्न गरी असोज १ गते बिहानदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।


