काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो।

महानगरपालिकाहरूमा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार वृद्धि भएको छ।

कारोबार भएको क्षेत्रफलका आधारमा पनि काठमाडौं महानगरपालिका अगाडि रहेको छ। समीक्षा अवधिमा काठमाडौंमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ। त्यस्तै, कारोबारको कुल मूल्यमा समेत काठमाडौंले सबैभन्दा उच्च वृद्धि हासिल गरेको छ। काठमाडौंमा घरजग्गा कारोबारको कुल मूल्य २१७.४० प्रतिशतले बढेको हो।

उपमहानगरपालिकातर्फ धनगढीमा घरजग्गा कारोबारको संख्या ७३.१६ प्रतिशतले वृद्धि भएको छ। कारोबार भएको क्षेत्रफल वृद्धिमा भने हेटौंडा अगाडि रहेको छ। हेटौंडामा कारोबार भएको क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ। त्यस्तै, कुल कारोबार मूल्यमा हेटौंडामा १८६.८० प्रतिशतको वृद्धि देखिएको छ।

देशभर समीक्षा अवधिमा लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबारको वृद्धिदर ८.१५ प्रतिशतमा सीमित थियो।

यस अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

पछिल्लो तथ्यांकले घरजग्गा बजारमा कारोबारको संख्या, कारोबार भएको क्षेत्रफल तथा कुल कारोबार मूल्यमा सुधार आएको देखाएको छ। विशेषगरी ठूला सहर तथा महानगरपालिकामा देखिएको उच्च वृद्धिले पछिल्लो समय घरजग्गा बजारमा गतिविधि बढ्दै गएको संकेत गरेको छ।