काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ वटा रहेका छन्।

शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै हालसम्म ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। तीमध्ये मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८८९ नमुना रहेका छन्।

पहिचान तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचान हुन बाँकी १ हजार ३५५ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीले अझै बेपत्ता रहेका ४ हजार ८९ जनाको खोजी कार्य जारी राखेको जनाएको छ।

यसैबीच, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ४४० जनालाई राखिएको प्रहरीले जनाएको छ।