काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत वितरण तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । सेनाले आइतबार दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप पाँच जनाको उद्धार गरेको जनाएको छ ।
सेनाका अनुसार हालसम्म हवाई उद्धारमार्फत स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हजार ९६७ जनाको उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले पुल निर्माणलाई तीव्रता दिएको छ । टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।
यस्तै, रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ । त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङमा पनि उद्धार उपकरणसहित सेनाका आठ जनाको टोली निरन्तर खोज तथा उद्धारमा खटिएको छ ।
त्रिशूली–३ बी आयोजनामा अडिट–२ बाट प्रवेश गरेको सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ । अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटो सफा गर्ने कामसमेत भइरहेको सेनाले जनाएको छ ।
चिलिमे हाइड्रोपावर आयोजनामा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ । टोली पावरहाउसबाट करिब ५०–६० मिटर दूरीसम्म पुगेको छ । स्याफ्रुबेंसीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर झारेर सुरुङ क्षेत्रमा लैजाने काम पनि भइरहेको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ ।
प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेंसीसम्म सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य जारी राखेको छ । त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।
यसैबीच, नेपाली सेनाले २० वटा अक्सिजन सिलिन्डर हवाई साधनमार्फत त्रिशूली पुर्याएको जनाएको छ ।


