काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक आँकलन विस्तृत क्षति विवरण भने होइन । टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययनका आधारमा प्रारम्भिक क्षतिको विवरण तयार पारेको हो ।
प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ ।
बाढीबाट ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
शैक्षिक क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य संस्थातर्फ चार वटा पूर्ण र तीन वटा आंशिक गरी सात वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।
यस्तै, बाढीले ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
कृषितर्फ १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । यसबाट करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।
बाढीको प्रभाव पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत परेको छ । प्रारम्भिक विवरणअनुसार पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्र प्रभावित भएको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखासमेत प्रभावित भएका छन् ।
ऊर्जा क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको यो विवरण प्रारम्भिक भएकाले थप विस्तृत अध्ययन तथा मूल्यांकनपछि क्षतिको वास्तविक परिमाण अझ स्पष्ट हुने जनाएको छ ।


