ललितपुर — भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ ललितपुरमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल ललितपुरको आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।
कार्यक्रम २०८३ भदौ २० गते शनिबार गोदावरी नगरपालिका–११, चापागाउँ, प्याङगाउँ, ललितपुरमा आयोजना हुनेछ। रक्तदान कार्यक्रम बिहान 9 बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल, लितपुरका अध्यक्ष मिठाराम केसी खत्रीले जानकारी दिनुभयो ।
भोटेकोशी–त्रिशूली नदीको बाढीबाट प्रभावित तथा पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इच्छुक रक्तदाताहरू सहभागी हुन सक्नेछन्। आयोजकले रक्तदानलाई मानवीय सेवासँग जोड्दै कार्यक्रमलाई सफल बनाउन सबैको सहभागिताको अपेक्षा गरेको छ।


