काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता नेपाली तथा विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक विधिबाट पहिचान गर्न डिएनए परीक्षण गर्न लागिएको प्रहरीले जनाएको छ। त्यसका लागि बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना नजिकको रक्तसम्बन्धीको ताजा रगतको नमुना आवश्यक पर्नेछ।

नमुना उपलब्ध गराउन चाहने परिवारले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डिएनए परीक्षण गराई त्यसको विद्युतीय प्रतिलिपि नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको छ।

बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगको डिएनए परीक्षणमार्फत पहिचान गरिने भएकाले सम्बन्धित परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।