काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ ।

यही भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली परिचालन गरी आयोजनास्थलको रेकीलगायतका काम भइरहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी, दुई जना ज्यालादारी कर्मचारी तथा निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना छन् । त्यस्तै, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना पनि सम्पर्कविहीन छन् ।

आयोजनाको भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चार जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

बाढीका कारण आयोजनास्थलमा ठूलो क्षति पुगेपछि बाँकी सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको हो ।